एकाएक कतारबाट राजेश (नाम परिवर्तन) नेपाल आइपुगे । घर पुग्दा छोराछोरी मात्रै देखेपछि ‘ममी' खै भन्दै सोधे । छोराछोरीले ‘मामु अर्कैसँग जानुभयो' भनेपछि राजेश छाँगाबाट झरेजस्तै भए । कतारमा १० वर्ष बिताइसकेका राजेश तीनचार वर्षमा एकपटक घर आउँथे । बच्चाको लालनपालन र घर चलाउन भन्दै राजेशले मासिक २५ हजार रुपैयाँ पठाइरहन्थे । तर सुम्निमाको अर्को केटासँगको अफेयरबारे उनी जानकार थिएनन् ।
सुम्निमाले प्रहरीका सईसँग बिहे गरेर नागरिकतासमेत बनाइसकेकी थिइन् । चार महिनाअगाडि राजेश नेपाल फर्किएपछि टेबुलमा सुम्निमाको नागरिकता हेर्दा उनी छक्क परे । चार बच्चाकी आमा सुम्निमाले यसरी धोका देलिन् भनेर सोचेका पनि थिएनन् राजेशले । सुम्निमाले प्रहरीका सईसँग पनि सम्बन्धविच्छेद गरिसकेकी थिइन् । राजेशले पनि सुम्निमालाई पत्नीका रूपमा स्वीकार्न मानेनन् । छोराछोरीले ‘ममीलाई छाडिदिनोस् बाबा हामी छँदैछौं नि' भन्दै सम्झाएपछि राजेश बच्चा लिएर घर फर्किए ।
राजधानीको बाफलको यो घटना लैंगिक हिंसाको ज्वलन्त उदाहरण हो । कोटेश्वरको अर्को घटना झन् सोचनीय छ । महिला सेलले यो घटनालाई दुई महिना लगाएर मिलाएको बताउँछिन् सेलकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्द । पत्नी हराएपछि कोटेश्वरका राजीव (नाम परिवर्तन) खोजीका लागि प्रहरी शरणमा पुगे । सेलले ललितपुर प्रहरीको सहयोगमा केटी (रञ्जना) नाम परिवर्तनलाई एउटा गेस्ट हाउसमा अर्को केटासँगै भेट्यो ।
जापानमा काम गर्न गएको समयमा खुरुखुरु रञ्जनाको खातामा पैसा पठाउँदै आएका थिए राजीवले । लमजुङमा राम्रै घरसमेत पत्नी बस्न नमानेपछि ५२ लाखमा बिक्री गरे । पैसाको सबै बागडोर रञ्जनाको हातमा सुम्पेका राजीव जापानबाट फर्केपछि एकाएक रञ्जना गायब भएको खबर सुनेर भस्किए । रञ्जनाले आफ्ना दुई बच्चालाई महाराजगन्जस्थित एक स्कुलमा भर्ना गरेकी थिइन् । राजीवले रञ्जनालाई बच्चा त भेट्नदेऊ भन्दा चार लाख दिनुपर्छ भनेर बार्गेनिङ गरिन् ।
स्कुलमा पुगेर बच्चाबारे सोधीखोजी गर्दा प्रिन्सिपलले रञ्जनाले बाबु मरिसकेकाले आमाको नाममात्रै लेखाएको जबाफ दिएपछि राजीव तनावमा परे । प्रहरीले रञ्जनालाई पक्राउ गर्न खोज्दा भनिन्, ‘तपाईंहरू मलाई कानुनविपरीत ढंगले पक्राउ गर्दै हुनुहुन्छ । राजीव र मेरो छोडपत्र भइसक्यो । पुनरावेदन अदालत पाटनमा गएर बुझ्नोस् ।' निरीक्षक चन्दका अनुसार अदालतमा गएर बुझ्दा उनीहरूको फागुनमै डिभोर्स भइसकेको रहेछ ।
Post a Comment