विरुवाको चिल्लो पात भने झै टेकप्रसाद ढुङ्गानाको रुची पढाईमा थियो । धेरै नबोल्ने र घरको काम गर्ने ढुङ्गाना पढाई प्रतिको रुचीकै कारण विद्यालय देखि नै उत्कृष्ट नतिजा निकाल्थे । विद्यालयमा चौथो र पाँचौ हुने उनी क्याम्पसमा पहिलो र दोस्रो हुन थाले । कानुनको स्नाकोत्तरमा त सर्बोत्कृष्ट भएर गोल्ड मेडल नै हासिल गरे । सरकारी सेवा उनका लागी सानै देखीको सपना हो । २०५१ सालमा उनी अधिकृतका रुपमा नेपाल सरकारको सेवामा प्रवेश गरे ।
अदालतबाट सेवा सुरु गरेका ढुङ्गाना विभिन्न अदालतमा सेवाको अनुभव बटुल्दै २०५९ सालमा उपसचिव बने । २०६२ सालमा खुल्ला तर्फबाट सहसचिव बन्न सफल ढुङ्गाना त्यसपछि अदालति समुहबाट कानुन मन्त्रालयमा आएका हुन । करिव सात वर्ष उनी व्यवस्थापिका संसदमा कार्यरत रहे । २०७२ सालमा सचिव र ४३ वर्षमा सचिव बन्ने गौरवपूर्ण इतिहास रचेका छन् । अहिलेका सचिवहरु मध्य उनी सबैभन्दा कान्छा सचिव हुन ।
उनका बुबा सरकारी जागिरमा भएकाले पढाई लेखाईको लागी अभाव भएन । बुबा घरमा नहुने भएकाले घरका सबै काम उनकै जिम्मेवारीमा थियो । मध्यम ग्रामिण परिवारमा उनको जीवन हुर्किएको हो । उनी कहिले पनि कुलतमा फसेनन् । सधै अनुशासित भएरै अघि बढे । जागिरे जिवन पनि उनका लागी सुखद भयो । छिटो छिटो बढुवा पाएर उच्च तहमा पुग्ने बाटो खुल्दै गयो ।
ढुङ्गानालाई नेपालको कानुन क्षेत्रका बारेमा राम्रो ज्ञान छ । हामी कहाँ कानुनी बन्दोबस्त समेत राम्रो भएको उनको भनाई छ । तर कानुन पालना गर्ने संस्कृतिको भने अभाव उनले देखेका छन् । कानुनलाई शिरमा राखेर काम गर्ने परिपाटी नभएकोमा उनी खिन्न छन् । कानुन सानोले मात्रै मान्ने, ठुलाले होइन भन्ने गलत भावना विकास भएको उनले देखेका छन् ।
ठुलो चुनौतिकाबीच जारी भएको संविधान भित्रि र बाहिरी दुई वटा कारणले कार्यान्वयनमा समस्या भएको उनको विश्लेषण छ । संविधान महत्वकांक्षी हुनुका साथै सार्वजनिक पदहरु धेरै भएकाले चुनौति थपिएको छ । संविधानले व्यवस्था गरेको विषयहरु पुरा गर्न धेरै लगानीको समेत आवश्यकता पर्ने ढुङ्गाना बताउँछन् । संविधानमा जनताको अधिकारहरु प्रशस्त समेटिएको उनको भनाई छ । सबै राजनीतिक दलहरुबीच एकमत नहुनु अर्को चुनौति देखिएको सचिव ढुङ्गाना बताउँछन् ।
संविधान बमोजिमका ऐन नियम बनाउने योजनामा कानुन मन्त्रालय रहेको ढुङ्गाना बताउँछन् । विभिन्न निकायबीच समन्वय हुन नसक्दा समस्या झेल्नु परेको उनको भनाई छ । संविधानसंग सम्बन्धीत विषयमा पनि व्यक्तिगत काम जस्तै फोन गर्नु परेकोमा उनी आश्चर्यमा छन् । ऐनका काम विभिन्न निकाय मन्त्रालय र मन्त्रीपरिषद््मा अड्किने गरेको उनी बताउँछन् । सबैले आफ्नो काम ठानेर गरेमा समस्या नहुन उनको भनाई छ । कर्मचारीमा पनि काम नगर्ने प्रवृति भएको उनको स्वीकारोक्ती छ ।
उनी आफु पनि विहान आठ बजेदेखी बेलुका नौ बजेसम्म काममा खटिन्छन् । आफ्नो कारण कुनै काममा समस्या नहोस भन्नेमा उनी सचेत छन् । आफ्नो कार्यकालको ४ वर्ष क्षमता अनुसार काम गर्ने उनको लक्ष्य छ ।
कर्मचारीमा देखिएको विकृतिजन्य कुराहरु बारे उनी जानकार छन् । दलपिच्छेका कर्मचारी संगठन र राजनीतिकरणले थप समस्या उत्पन्न भएको उनले राम्रोसँग अनुभव गरेका छन् । कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्थामा कडाई गर्नुपर्ने मान्यता उनको छ । कर्मचारीले राजनीति गर्न नहुने उनको दृढ मत छ ।
मुलुकको विकास प्रति उनी आशावादी छन् । राजनीतिक संघर्ष सकिएकाले अब विकासका लागी संघर्ष गर्नुपर्ने उनको भनाई छ । तर राजनीतिक अस्थीरताले समस्या परिरहेको उनले देखेका छन् । २२ प्रतिशत भन्दा बढि खर्च गर्न नस्कनु हाम्रो असक्षमता भएको ढुङ्गाना बताउँछन् । सबैले देशबाट लिनेभन्दा पनि देशलाई दिने तर्फ सोच्न उनी आग्रह गर्दछन् । उनी आफ्नो जीवनमा संविधानसभा विघटन हुँदा सबैभन्दा दुःखी भएका थिए भने संविधान जारी हुँदा सबैभन्दा खुसी भएका थिए ।
घरपरिवारको सहयोगले नै उनी देशको उच्च प्रशासकसम्म बन्न सफल भएका हुन । श्रीमति भगवति शर्मा सरकारी सेवामा नै छिन् । दुई छोराछोरी आफ्ना जीवनका लक्ष्यमा अघि बढिरहेका छन् । पिता विष्णुप्रसाद ढुङ्गाना र माता निर्मलादेवी ढुङ्गानाका सन्तानका रुपमा २०२८ साल पुस ६ गते जन्मिएका सचिव टेकप्रसाद ढुङ्गाना नेपालको कानुन र प्रशासनिक क्षेत्रका उदाहरणीय नाम हुन ।
Post a Comment